अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भेटिएमा कठोर कदम चालिने छ : मन्त्री भुसाल

290

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन् ।

नेपाल विद्युत् प्राधिकारणको ३६औँ वार्षिकोत्विको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई प्राथमिकता राखेको भन्दै अनियमितिता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएकी हुन् ।

कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ । मन्त्री भुसालले भनिन्,“भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता र चेन अफ कमान्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहिँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदि कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिने छ ।”

मन्त्री भुसालले आउँदा दिनमा वर्षायामको विद्युत खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइन् ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी भुसालले भनिन्,“आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामका लागि फरक–फरक महशुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महशुलमा सुविधान दिने निर्णय भइसकेको छ । साथै आन्तरिक खपतपछि बढी भएको विद्युत् छिमेकी देशमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ ।”

उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअघि नै सम्पन्न गर्न कार्य योजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन् ।

मन्त्री भुसालले किसानलाई सिंचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरिन् । “नहर तथा कुलोबाट सिंचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिंचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिंचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ ,” मन्त्री भुसालले भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...