काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्ले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद् भैरबबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् । भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गरे ।
सांसद् मनकुमारी जिसीले अफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याइन् । सांसद् रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आ–आफ्ना नागरिक फिर्ता बोलए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन् ।
सांसद् बिमला नेपालीले सर्वोच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाँझिएको तथा यसले दलित, मधेसी, महिलालगायतको अपमान गरेको बताइन् । सांसद् भरतकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए ।
सांसद् भवानीप्रसाद खापुङले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटक–पटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भएपनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराए ।
सांसद् महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताए ।
सांसद् महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालु हुनुपर्नेमा जोड दिए । यस्तै, मिनबहादुर विश्वकर्माले कोसी राजमार्गमा पहिले–पहिले १५÷१५ मिटर चौडाइ भनिए पनि अहिले ६२ मिटर चौडाइ कायम भएको तर, धेरै नागरिकले मुआब्जा नपाएको औँल्याए ।
सांसद् मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढीपहिरोको आक्रान्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।
सांसद् मोहन बानियाँले सरकारसँग अगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको बताए । सांसद् यज्ञराज सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताए ।