काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । विद्रोही समूह तालिवानका लडाकुहरु राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजकिस्तान गएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन ।
समाचार संस्था एपीले स्रोतहरुलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ ।
तालिवानका एकजना प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे आफूहरुले खोजी गरिरहेको बताएका छन् । यसअघि आइतबार दिउँसो शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरणका लागि तालिवान प्रतिनिधिहरु राष्ट्रपति कार्यालय गएका थिए ।