संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल

272

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।

महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतङ्क सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । सङ्क्रामक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई संक्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताए ।

सरकारले यही कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय अनुचित रहेको पनि बताए । उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालले निःशुल्क उपचार बन्द गरेको कारण संक्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...