काठमाडौं । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको यथार्थ पत्रमा तथ्य एकातिर तथ्याङ्क अर्कोतिर बनाएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा यथार्थपत्रबारे धारण राख्दै निवर्तमान अर्थमन्त्री पौडेलले सरकारको आलोचनाका रुपमा पत्र आएको आरोप लगाए ।
“देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनिए पनि पूर्ववर्ती सरकारको आलोचनाका रुपमा मात्रै आएको देखियो । तथ्यविपरीत तथ्याङ्क राखियो,” उनले भने ।
उनले सत्ता पक्ष र विपक्षबीच नीति र विचारमा मतभेद हुनु स्वभाविक हुने भन्दै आर्थिक अवस्थाबारे मतभेद गर्न नहुने बताए । तथ्यलाई तोडमोड गर्न कसैलाई छुट नभएको उनको भनाइ थियो ।
सामान्य र असामान्य अवस्थालाई एउटै टोकरीमा राखेर तुलना गर्न नसुहाउने उनको तर्क थियो । आफू अर्थमन्त्री भएको सरकारका बेला अनुकुल र प्रतिकुलमा तुलना गर्दा पनि राम्रो देखिएको उनको तर्क छ ।