भूपू गोर्खाहरुको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

572

लन्डन । गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरुको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।

विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरुलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए ।

बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद् मोर्गनले भने,“गोर्खाहरुले २०० वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मुद्दामा हाम्रो चासो र चिन्ता रहेको छ, सरकारले यो अपमानजनक कार्य अन्त्य गर्ने कुरा तत्काल अन्त्य हुनुपर्छ, हामी गोर्खाहरुको पक्षमा छौँ ।” उनले ती गोर्खाले न्यायका लागि मर्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो कालो धब्बाका रुपमा देखिने बताए ।

अनशनरतमध्येका धन गुरुङले भने,“हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे, अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ ।”

यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्यांकन गरेर गोर्खाहरुको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...