काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः चुनाव जिताएर ल्याउने आश्वासन दिएका छन् ।
मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आंशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोकृष्ट अंक हासिल गरेको सम्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले सांसद् पद धरापमा पर्यो भनेर नडराउन आफ्ना समर्थकलाई आग्रह गरे । “सत्यको पक्षमा लड्दा सांसद् पद गए जिताएर ल्याउने जिम्मेवारी मेरो भयो,” नेपालले भने ।
वरिष्ठ नेता नेपालले आफूहरु कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । “कसैको टाङमुनि छिर्नेवाला छैनौँ, सत्यको पक्षमा लड्नुस्, हाम्रो साथ छ,” उनले भने,“अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौँ ।”
सहासी र बहादुर बन्दा दम्भी र घमण्डी बन्ने खतरा हुने बताउँदै उनले विनम्र बनेर सत्य र न्यायको बाटोमा अगाडि बढ्न समर्थकलाई सुझाव दिए ।