ओलीले भने– ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’

214

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर हटाए पनि आफू फेरि मूलढोकाबाटै प्रधानमन्त्री पदमा फर्किने बताएका छन् । प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुन नभइ देशको सेवाका लागि जन्मिएको पनि बताए । “म प्रधानमन्त्री हुन जन्मिएको होइन, देशको सेवा गर्न जन्मिएको हो,” उनले भने,“६४ वर्षसम्म त म प्रधानमन्त्री थिइँन तर पनि भइयो ।”

ओलीले आफूलाई पहिलोपटक प्रधानमन्त्री हुँदा गठबन्धन गरेर हटाइएको बताए । “मलाई गठबन्धन गरेर पहिलोपटक हटाएका थिए । त्यसबेला भनेको थिएँ, म जस्केलाबाट होइन, झ्यालबाट होइन, मूल ढोकाबाट, मूल गेटबाट आउने छु भनेको थिएँ,” उनले भने, “फेरि पनि सुनिराख्नु हुन्छ, सुनि राख्नुस् । म मूलबाटो मूल गेटबाट फर्किएर आउने छु ।”

उनले आफूलाई ग्रहदशाले, परमादेशले होइन जनताले प्रधानमन्त्री बनाएको बताए । “मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई जनताले मत दिएर प्रधानमन्त्री बनेको हो,” उनले भने,“विभिन्न पार्टीका नेताहरुका कुण्ठा, इर्ष्या र जलन आदिको सम्मिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । विभिन्न पार्टीका गठजोडबाट पनि म प्रधानमन्त्री भएको होइन ।”

Share This:
सम्बन्धित खबर
Loading...