विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री शर्मा

390

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याएका छन् ।

सोमबार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए । आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमन्ड कर्मचारीहरुमा पलाउनसक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बचन दिए ।

यस्तै, अर्थविद डा.भवानी ढुंगाना, डा.शिवराज अधिकारी, गोपाल तिवारीलयतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए ।

उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो समेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...