काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद् डा.विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (एमाले) फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाएकी छन् ।
आइबार राष्ट्रियसभा बैठकको विषेश समयमा बोल्दै सांसद् पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौँला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसेको दाबी गरिन् ।
“सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाइन गराउँला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुरजी कमजोर हुनुभयो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ,” उनले भनिन् ।
संघदेखि प्रदेश र स्थानीय तहमा समेत समानान्तर गठबन्धन बनेको भन्दै राईले आपत्ति जनाइन् । “सत्यता कति हो थाहा छैन, तर गठबन्धनले समानान्तर राजनीतिक संयन्त्र बनाउँदै छ जसअनुसार प्रधानमन्त्री चल्ने हो भन्ने कुरा छ । यस्तो कुरा गलत हो,” पौडेलले भनिन् ।
पौडेलले राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्रीका हातखुट्टा बाँधिएको टिप्पणी गरिन् । “प्रधानमन्त्रीका हातखुट्टा बाँधेर राखेर संसद्प्रतिको उत्तरदायित्व पूरा हुन्छ ?” पौडेलले भनिन्,“स्वतन्त्र भएर सांसद्ले भोट गरेर बन्नुभएको छ । त्यसैले यो जटिल छ ।”
सांसद् पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको समेत बताइन् । संविधानले नचिन्ने राजनीचिक संयन्त्र बनाउने काम गर्न नहुने उनको भनाइ थियो ।