काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
सत्ता गठबन्धनको शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यन्वयन गर्ने गरी सत्ता गठबन्धनका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।
न्यूनतम साझा कार्यकममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बर्द्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।