संयोजक गौतम भन्छन्– दार्चुला घटनाको छानबिन पारदर्शी हुन्छ

430

दार्चुला । दार्चुला घटनाको पारदर्शी रुपले छानबिन गरिने गृह मन्त्रालयका सहसचिव एवम् छानबिन समितिका संयोजक जनार्दन गौतमले बताएका छन् ।

घटनाबारे छानबिन गर्न काठमाडौंबाट मंगलबार दार्चुला पुगेका मन्त्रालयको टोलीले बुधबार पत्रकारसँग घटनाको विषयमा छलफल गरेको हो ।

छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटनास्थल जानु पूर्व टोलीले पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलमा समितिका संयोजक गौतमले घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान घटनाका तीनजना प्रत्यक्षदर्शीलाई घटनाको बारेमा सोधपुछ गरेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्याणसिंह धामी, अनिता धामी र विक्रमसिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकताबारे सोधपुछ गरेको छ ।

घटनासँग सम्बन्धित प्रमाणहरु संकलन तथा विष्लेशण गरी सत्यतथ्य बाहिर ल्याउने संयोजक गौतमले बताए ।

साउन १५ गते शुक्रबार व्यास गाउँपालिका–२का जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता भएका धामी अझै भेटिएका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...