काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले तथ्यहरुले एसएसबीका व्यक्तिले तुइको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गरे । उनले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि गरे ।
“उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिकरुपमा क्षमायाचना गर्नुपर्छ,” उनले भने,“दोषीमाथि तत्काल कडा कारबाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहोर्याउन जोडदार माग गर्दछु ।”
उनले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकोमा सरकारको सराहना गरे । उनले छानबिन समितिको रिपोर्ट छिटो ल्याइ दोषीमाथि कारबाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गरे ।
भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढंगबाट सरकरात्मकरुपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कदापी नसहने चेतावनी पनि दिए ।