फुटबल प्रशिक्षक अलमुताइरीले माफी माग्दै भने, ‘मेरो मनसाय कसैलाई चोट पुर्‍याउने थिएन’

406

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सामाजिक सञ्जालमार्फत् माफी मागेका हुन् ।

केही समयअघि सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा उनले नेपालमा खेलाडीसँग खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिवर्तन हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपछि मुख्य प्रशिक्षक अलमुताइरीले यसरी बोल्नु अनुशासन उल्लङ्घन भएको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले कारबाहीको माग गरेका थिए ।

आफूले नेपाली राष्ट्रिय टिम र पूर्वखेलाडी तथा प्रशिक्षकहरुको विषयमा बोल्दा कतिपयलाई चोट पुगेको स्वीकार गर्दै आफ्नो मनसाय कसैलाई चोट पुर्याउने नरहेको उनले बताएका छन् ।

“मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“मेरो शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...