काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
सोमबार बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच भएको छलफलमा मंगलबारसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको हो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको बताए । “पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको छ,” उनले भने ।
प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ । “सरकार विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको हो,” उनले भने ।
सोमबार छलफलमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र जसपाका अध्यक्ष यादव सहभागी थिए । कांग्रेस महामन्त्री खड्काका अनुसार शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको हो ।