काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माधव कुमार नेपाल समूह सरकारमा नआउने बताएका छन् । उनले माओवादी केन्द्रको स्थायी समिति बैठकमा यस्तो बताएका हुन् ।
“माधवजीहरु सरकारमा आउनुहुन्न । उहाँको पक्षका सांसद्हरु सरकारमा सहभागी हुन आतुर छन् तर, देउवाजीले माधवजीले नभनेसम्म व्यक्तिगतरुपमा आउनेलाई सरकारमा सहभागी नगराउने भन्नुभएको छ । त्यसैले माधवजीको समूह सरकारमा आउने सम्भावन छैन,” प्रचण्डको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य गणेश साहले भने ।
अब मन्त्रालय भागबण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने प्रचण्डको भनाइ थियो ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागबण्डा गर्ने भनेर गृहकार्य गरेको तर, अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको स्थायी समिति सदस्यले जानकारी दिए ।