कोरोनाबाट एकै परिवारका तीनजनाको मृत्यु, गाउँ सिल

325

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुर गाउँमा कोरोना भाइरसको संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

वडाध्यक्ष घमनसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखरेल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

संक्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँमा सिल गरिएको छ । १५ दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएर बढ्दै गएसँगै ५ दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिबार रातिदेखि साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना संक्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः संक्रमण बढ्न थालेको उनले बताए ।

खैजनपुरमा संक्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण सुरु गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...