विर्तामोडका खोप तस्करलाई कडा कारबाही गर्न माओवादी केन्द्रको माग

326

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्नेमाथि कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड–१९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए ।

माओवादी केन्द्रका विर्तामोड नगर इञ्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ ।”

मिति २०७८/०४/१५ गते बिर्तामोड स्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड–१९ फोकल पर्सन खोपसहित संदिग्धरुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुनः यस खालको गतिविधिमा संलग्न देखिएकोमा कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।”

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विरुद्धमा जनदवाव सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पूर्ण नगरबासीलाई अपिल गरिएको छ।

Share This:
सम्बन्धित खबर
Loading...