होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

494

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसेल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओम बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिएको थियो । स्थानीयवासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इलाका प्रहरी कार्यालयमा राखिएको र कानुनबमोजिम थप कारबाहीका लागि स्वास्थ्य कार्यालय पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकिर गर्दै होटलमा लुकाएको अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेको स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफू आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेल जिल्लाबाट पठाएको खोप होटलमै बुझेको दाबी गरे ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफू अनभिज्ञ भएको बताए । उनले घटनाबारे सोधखोज भइरहेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...