काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ ।
बिपी कोइराला प्रतिष्ठान खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले भने,“कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्दछ,” थापाले भने ।
नेता थापाले सरकारलाई सफल बनाउन सिंगो सहयोग गर्नुपर्ने आवश्यकता पनि औल्याए ।
फरक प्रशंगमा उनले पार्टीको आशन्न १४औँ महाधिवेशनको मिति तलमाथि नगर्न पनि पार्टी नेतृत्वलाई सुझाव दिए । “पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,” उनले भने ।
नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको स्पष्ट पारे ।