बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन

224

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेश्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेश्रो महामारीको तयारीसहित छिटोभन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो । आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

विभिन्न मुलुकमा बालबालिकालाई कोरोनाको खोप लगाइसकेको अवस्थामा नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था र स्थानीय तहमा समेत महिला तथा बालबालिकामैत्री क्वारेन्टिनको तयारी गर्न पनि निर्देशन दिएको उनले बताइन् ।

समितिले अहिले देशभरमा बाल रोग विषेशज्ञको संख्या कम रहेकाले अरु उपलब्ध स्वास्थ्यकर्मीको समुचित परिचालन गर्न पनि निर्देशन गरेको छ । समितिले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको वृत्तिविकासमा देखिएको समस्यालाई शीघ्र सम्बोधन गरी उच्च मनोबल कायम गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई निर्देशन गरेको हो ।

त्यस्तै कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमि हुन नदिन र कोरोनाका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिइएको समिति सभापति पालले बताइन् ।

समितिका सदस्यले तेस्रो लहर आएपछि तयारी थाल्नुभन्दा अहिलेदेखि नै त्यसको रोकथाम, नियन्त्रण र आवश्यक उपचारका लागि मानवीय, पूर्वधारलगायतका तयारी गर्नुपर्नेमा जोड दिएका छन् । सभापति पालले महिला बालबालिकाका विषयमा जिल्ला र स्थानीय तहमा समन्वय गर्न संघीय सरकारको संयन्त्र नभएको बताइन् । जिल्ला स्तरमा महिला बालबालिकासम्बन्धी कार्यलय आवश्यक रहेको उनले बताइन् । “पहिले कृषि कार्यालय जिल्लामा नभए पनि स्थापना गरिएको छ, त्यसरी नै महिला, बालबालिकासम्बन्धी शाखा जिल्लामा चाहिन्छ,” उनले भनिन् ।

बैठकमा समिति सदस्यहरुले सम्भावित तेश्रो लहरबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीररुपमा लाग्नुपर्ने सुझाव दिए । उनीहरुले प्रयाप्त भेन्टिलेटरलगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...