क्याबिनेटमा सक्षम टिम बनाएर सरकार चलाउन देउवालाई नेपालको सुझाव

339

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकार सञ्चालनका लागि प्रधानमन्त्रीलाई सक्षम सहयोगीहरु चाहिएको बताएका छन् ।

विश्व वाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री मात्रै भएर काम पर्याप्त नहुने भन्दै त्यसका लागि सहयोगी र सहयोद्धाहरु पनि त्यस्तै काबिल चाहिने बताएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्रै भएर पर्याप्त हुँदो रहेनछ । सहयोगी र सहयोद्धाहरु पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । सिर्जनात्मक चाहिन्छ,” नेपालले भने ।

नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरुको छुट्टै संगठन बनाउन आवश्यक रहेका पनि बताए । उनले जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा यस्तो संगठन आवश्यक रहेको कुरा आफूले पहिलेदेखि उठाउँदै आएको बताए ।

आफ्नो प्रधानमन्त्री कालदेखि थालिएको बाघ संरक्षण सफल भएकोमा नेता नेपालले खुसी व्यक्त गरे । उनले सन् २००९ मा जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा छेउ कालापत्थरमा बैठक राखेर विश्वको ध्यानाकर्षण गरेको बताए ।

बाघको संरक्षणका लागि वातावरण संरक्षण गर्न विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...