पूर्वसभामुख नेम्वाङलाई देउवाको प्रश्न : तपाईं अध्यक्ष हो नि, धारा ७६(५) किन लेख्नुभयो ?

574

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानको धारा ७६ को उपधारा (५) किन लेखिएको हो ? भन्दै नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख प्रतिपक्षी एमालेका उपनेता नेम्वाङले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका सन्दर्भमा अदालतले गरेको व्याख्याले निर्दलीय व्यवस्था ल्याउने र दलीय प्रतिस्पर्धा समाप्त हुने जिकिर गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्नो दलका सांसद्लाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने, तर अरु दलका सांसद् लगेर प्रधानमन्त्री हुने गैरसंसदीय कार्य गरेको आरोप समेत लगाएका थिए ।

नेम्वाङको टिप्पणीप्रति जबाफ दिँदै प्रधानमन्त्री देउवाले उनलाई उल्टै धारा ७६(५) किन लेखिएको भनेर प्रश्न गरे । “यो संविधानमा धारा ७६को उपधारा ५ किन लेखिएको हो ? तपाईं नै हो संविधानसभाको अध्यक्ष र सभामुख पनि । किन गरियो यो व्यवस्था ?” देउवाले प्रश्न गरे ।

उनले संविधानसभाको अध्यक्ष हुँदा नेम्वाङले नै यो संविधान भत्किने छैन, संसद् भंग हुने छैन भन्दै बोलेको स्मरण गरे ।

“उहाँले नै यो संविधान भत्किने छैन, पार्लियामेन्ट भंग हुने छैन भनेर अन्तर्वार्ता र सार्वजनिकरुपमा बोल्नुभएको म झलझली सम्झिरहन्छु,” देउवाले भने,“दोस्रो कुरा राष्ट्रपतिले नै धारा ७६(५) अनुसार सांसद्को समर्थनमा सरकार बनाउन आउनुस् भनेर आह्वान गरेकै हो । आह्वान गरे अनुसार हामी गएका हौँ र बहुमत सदस्यको सिग्नेचर लगेका पनि हौँ ।”

राष्ट्रपतिले बहुमत पुर्याएर आउनु भनेपछि १ सय ४९ जनाको हस्ताक्षर लिएर गएको, तर राष्ट्रपतिले त्यसलाई कार्यान्वयन नगरेपछि अदालत जानु परेको देउवाले प्रष्ट पारे ।

देउवाले आफूले आफ्नो दलका सांसद्हरुलाई ह्विप नलगाएको पनि स्पष्ट पारे । “हामीले पक्षमा मतदान गर्न ह्विप लगाएनौँ, अनुरोध गरेका थियौँ,” उनले भने,“अनुरोध त हामीले एमालेलाई पनि गरेका थियौँ, माओवादी र जसपालाई पनि गरेका थियौँ, अनुरोध नै गर्न नपाइने कहाँको नियम हो ?”

Share This:
सम्बन्धित खबर
Loading...