काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।
बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राज कुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन आग्रह गरेको छ ।
जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।
जसपाको निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमध्ये उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दाबी गरेको छ ।