काठमाडौं । नेकपा एमालेले विवाद समाधान कार्यदलले गरेको दश बुँदे सहमति अनुमोदन गरेको छ ।
शुक्रबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकले सहमति अनुमोदन भएसँगै कार्यदल विघटन गरेको छ । बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले अदालतको फैसलाले राज्यका तीनवटा अंगको सन्तुलन खल्बलाएको निष्कर्ष निकालिएको जानकारी दिए । संसदमा फ्लोर क्रस गर्दा दलको ह्विप लाग्दैन भन्ने कुरा दलीय प्रणालीको विपक्षमा रहेको एमालेले पारित गरेको उनले बताए ।
बैठकमा अध्यक्ष ओलीले आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यस्तै, ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।