‘थ्री नेसन्स कप’ फुटबल विजेता खेलाडी र प्रशिक्षक पुरस्कृत

253

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थ्री नेसन्स कप’को उपाधि विजेता राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका छन् ।

बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता टोलीलाई आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् । विजेता टोलीका २३ खेलाडी र ३ जना प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।

पुरस्कृत हुनेहरुमा टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बू, विराज महर्जन, सञ्जोग राई, विशाल राई, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशंकर पासवान, तेज तामाङ, अञ्जान विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास, र दीप कार्की छन् । यस्तै, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकास मल्ल रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए ।

नेपाल, बंगलादेश र कीर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० गतेदेखि १६ गतेसम्म नेपालमा सञ्चालनमा भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

नेपालका लागि सञ्जोक राई र विशाल राईले १–१ गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलोपटक उपाधि जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...