काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई निजीकरण गर्ने कुनै छलफल नभएको जनाएको छ ।
निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका कर्मचारीहरु आन्दोलित भइरहेका बेला सरकारले निजीकरणका लागि कुनै छलफलसमेत नभएको जनाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल नभएको बताएको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा निजीकरणको कुनै कार्यक्रम पनि नभएको जनाइएको छ ।
“नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धनमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ,“यस सम्बन्धमा नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”