काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले केही समयअघि उनको नाम जोडेर आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पछिल्लो समय केही सञ्चार माध्यमले उनी पुनः नेकपा (माओवादी केन्द्र)मा फर्कन लागेको समाचार प्रकाशित गरेका थिए ।
रायमाझीद्वारा जारी प्रेस विज्ञप्तिमा पुनः माओवादीमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवम् कपोकल्पित भएको जनाउँदै त्यस्तो समाचारप्रति विश्वास नगर्न अपील गरेका छन् ।
“क.प्रचण्डले राजनीतिक एवम् वैचारिकरुपमा नै विचलित भइ सिंगो पार्टीलाई विघटन एवम् विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ,” विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै नेता रायमाझीले समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकासका लागि अहिले आफूहरु अोलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको जनाए ।
औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन यस्तो समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।