काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले विवादित विषयमा सहमति जुटाएको छ । करिब ७ घन्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता पश्चात सहमति भएको हो ।
सहमतिबारे भने नेताहरूले केही खुलाएनन् । सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि सहमति जुटाएको हो ।
सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिमरुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
झन्डै सात घन्टाको बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुगेको उनले बताए । त्यस्तै उनले सहमतिको दस्तावेजलाई अन्तिमरुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिए । उनले सहमतिका बुँदा थाहा पाउन केही समय कुर्न आग्रह गरे ।
त्यस्तै एमाले नेता गोकर्ण विष्ष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले भने, “आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ भोलि सहमतिमा पुग्छौं । समय अभावका कारण एकाध बाँकी रह्यो ।”
केही विषयमा शनिबार छलफल हुने उनले बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए । एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ ।