काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको निरीक्षण गर्ने भएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् पार्टी केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार भोलि(शनिबार) बिहान साढे १० बजे हेलिकोप्टरमार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्रलगायतका विभिन्न स्थानको हवाई निरीक्षण गर्नेछन् ।
हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु र बाढी पहिरो पीडितहरुसँग प्रधानमन्त्री ओलीले केहीबेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागि हुनेछन् । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार मेलम्ची बजारका बाढी पीडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तरक्रिया गर्ने कार्यक्रम छ । सचिवालयले दिएको जानकारी अनुसार बाढी पीडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहतको र पुनः निर्माणका प्याकेज घोषणा गर्ने तयारी छ ।
असार १ गते आएको बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना बेपत्ता छन् ।