प्रदेशसभालाई झुटको खेती गर्ने थलो बनाइयो : प्रमुख सचेतक कार्की

534

विराटनगर । विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेशसभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कील प्रदेश सरकारले हाल बन्द रहेको अवस्थामा रहेको कोसी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेशसभा बैठकमा पटक–पटक झुट बोलेको आरोप लगाएका हुन् ।

कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै जनतालाई र सांसद्हरुलाई समेत सरकारबाट ढाँट्ने काम हुँदै आएको दाबी समेत गरे ।

यस्तै, उनले विराटनगर जुटमिलको सेयरमा घोटला गर्ने व्यक्तिलाई सरकारी जमिन जिम्मा लगाउन लागेको भन्दै विरोध जनाए ।

उदयपुरको बेलका नगरपालिकामा कोसी नदीसँग जोडिएको नदी उकास जमिन कबुलियती वनको रुपमा निजी क्षेत्रलाई दिएकामा त्यस क्षेत्रका बासिन्दा आन्दोलनमा छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकले बेलका नगरपालिका–३ पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको १७५.२३ हेक्टर सप्तकोसीको नदी उकास जमिन निजी कम्पनीलाई ३० वर्षका लागि जिलमा दिने निर्णय गरेको थियो ।

१७५ हेक्टरमध्ये निलहरि काफ्लेको बराह हर्वल एन्ड एग्रो प्रालिलाई ५१.१३ हेक्टर र उनीनिकट व्यवसायी सेफ वे टेक्नोलोजी ललितपुरलाई १२५ हेक्टर जमिन लिजमा दिएको थियो ।

“अघिल्लो पटक प्रदेशको नीति तथा कार्यक्रममा एउटा विषय ठूलो चर्चा भयो, हामीले पनि बोल्यौँ, कोसी नदी उकासको जमिन खेति गर्न दिने होइन संरक्षण गरौँ र पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर कुरा गर्यौँ, ” कार्कीले भने,“….सरकारको कुत्सित मनसाय निलहरि काफ्लेलाई दिने रहेछ ।”

त्यसैगरी कार्कीले संघीय सरकारले प्रदेशका मुख्यमन्त्रीहरुका लागि काठमाडौं गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराए पनि मुख्यमन्त्रीले छुट्टै घर भाडामा लिएर करोडौँ रुपैयाँ खर्च कगरेको भन्दै उनले मुख्यमन्त्रीको आलोचनासमेत गरे ।

“धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एकपटक पनि नजाने,” कार्कीले भने,“तर, काठमाडौंमा गएर आफूखुसी बस्नका लागि जनताको पैसा खर्च गर्ने ? त्यो जरुरी छैन भन्ने बुझ्नु पर्छ ।”

काठमाडौं महाराजगञ्जमा मासिक ३ लाख ५१ हजार ५ सय रुपैयाँ भाडा तिर्ने गरी मुख्यमन्त्रीको कार्यालय राखिएको छ । कार्यालय प्रयोग नै नभएपनि राज्यस्रोतको वार्षिक ४२ लाख १८ हजार खर्च भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...