काठमाडौं । नेकपा एमालेको कार्यदलका भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्मा टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमर नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार ३ दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकरात्मक र सहमति उन्मुख भएको कार्यादलको सदस्य ज्ञवालीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले भने,“छलफल सकरात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ ।”
यसैगरी, संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता माधव कुमार नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिरुप दिइ भोलि टुंगोमा पुगिने बताए । उनले आवश्यक परे ओली र नेपालबीच पनि भेट हुनसक्ने बताए ।
अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।
बैठकमा ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा.भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।