काठमाडौं । सुजिता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा ८ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
पूवी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । मंगलबार साढे सात बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालनबाहेक कुनै पनि व्यक्ति आवातजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बिना घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क(१) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे÷गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिना कैद वा जरिवाना वा दुवै सजाय हुने आदेशमा उल्लेख छ ।
यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम आधिकारीका अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित ४ जना र नेपाल प्रहरीका चारजना घाइते भएका छन् ।
असार ११ गतेदेखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब ४ किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।