काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३३ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
मंगलबार विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल आज एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर रहेका छन् ।
निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको एसएसपी भट्टराईले बता ।
चोरको आँखामा एनएस पल्सर
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेका छन् । विशेषगरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।
विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वातविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए ।
यसरी हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको समेत उनले जानकारी दिए ।
यस आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।
सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ नगर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।