काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।
कुल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको हो । आयोजनस्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।
प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ ।
स्वादेशी लगानीको हालसम्मकै सबैभन्दा ठूलो आयोजनाको निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो ।
सोमबार एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
आयोजनाबाट उत्पादिन विद्युत् विद्युत्गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत् जोडिएको छ ।