ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो : नारायणकाजी श्रेष्ठ

482

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् ।

आफूहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पूर्णरुपमा सफल हुन नसकेको कारण प्रतिनिधिसभा दोस्रोपटक पनि विघटन भएको टिप्पणी गरे ।

“म चेतावनी दिन चाहन्छु । त्यो कहिल्यै पुग्ने छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरिछाड्ने छौँ,” श्रेष्ठले भने ।

प्रधानमन्त्री ओली स्वार्थ केन्द्रित महत्वकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र कम्युनिस्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको दाबी उनले गरे ।

“केपी ओलीले आफ्नो नेतृत्वको सरकारमार्फत् ठीक विपरीत तर्फ लैजानुभयो । त्यस अर्थमा संविधानको आङ्गो उल्लङ्घन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशको साथमा निरंकुशतन्त्र चलाउनुभयो । देशलाई भ्रष्टाचारको दलदलतर्फ लगेर बारबाद गर्न तर्फ जानुभयो । यसको कारण के हो ? लोकतान्त्रिक दृष्टिकोण, चिन्तन र संस्कृतिको विरुद्ध उहाँ आत्म केन्द्रित व्यक्तिवाद चिन्तन र संस्कृतिको शिकार हुनुभयो । आफ्नो व्यक्तिगत महत्वकांक्षा, स्वार्थ र सत्तालिप्साका निम्ति संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने तर्फ उद्दत हुनुभयो । संविधान र लोकतन्त्र गए जाओस् मेरो पदचाहिँ छोड्नुहुन्न मैले भन्ने दिशातर्फ उहाँ जानुभयो । संविधान र लोकतन्त्र मात्रै होइन र कम्युनिस्ट आन्दोलनपनि सकिए सकियोस् तर मेरो पदचाहिँ छोड्दिन भनेर कम्युनिस्ट आन्दोलनमाथि विसर्जनवादी प्रहार गर्नुभयो र एकैपटक प्रतिगामी प्रहार गर्नुभयो । देश अहिले अत्यन्तै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ,” उनले भने ।

प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रित सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुर्याएको दाबी श्रेष्ठले गरे ।

प्रधानमन्त्री ओलीले विदेशीहरुसँग मिलेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप उनले लगाए । उनले ओलीकै कारण मुलुकको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप बढेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...