काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना भए पनि शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र सुरु भएको बताएका छन् ।
सोमबार बिहान सर्लाहीको हरिवनमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा विघटन गरेकाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा भने ढुक्क हुन उनले कार्यकर्तालाई आग्रह गरे ।
उनले प्रतिनिधिसभा पुनःस्थपना भएपनि विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिन विभिन्न दाउपेच सुरु भइसकेको दाबी गरे । “निश्चितरुपमा प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,” उनले भने,“सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने कुनै पनि कानुनी आधार छैन । तर, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्दा पनि विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिन विभिन्न षड्यन्त्र सुरु भइसकेका छन्, त्यसप्रति हामी सचेत हुन जरुरी छ ।”
उनले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिन राष्ट्रिय, अन्तर्राष्ट्रिय दाउपेच सुरु भइसकेको बताए ।