काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको बताएका छन् ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आफूलाई १ सय ४९ सांसद्ले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपति रातारात सांसद् विघटन गरेको भन्दै आपत्ति जनाए ।
देउवाले राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गरेको आरोप लगाए ।
“आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ,” उनले भने, “राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो । १४९ सांसद् आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ ।”
देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।