अरुण तेस्रो आयोजनाको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

340

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिचिला गाउँपालिका–३ पुखुवामा भीरबाट बा५ख १४० नम्बरको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

बुधबार राति १० बजे अरुण तेस्रो आयोजनाको विद्युत्‌गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो । भीरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी राईले बताए ।

त्यस्तै टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उनले बताए । सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँचिएको सूचना अधिकारी राईले बताए ।

गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...