सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् ।
मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्दावती गाउँपालिका–७ मा एकजना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक ९एसपी० राजन अधिकारीले बताए । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
एसपी अधिकारीका अनुसार अहिलेसम्म ४२ जनाको उद्धार गरिएको छ । त्यसमध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत सिनो हाइड्रोका कर्मचारी रहेको अधिकारीले बताए ।
मेलम्ची नदीमा मंगलबार आएको बाढीले सोही गाउँपालिका–१ स्थित रहेको सशस्त्र पहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल र मेलम्ची नगरपालिका–१० र ११ जोड्ने पुल बगाएको छ ।