वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन भनिसक्यौँ : कांग्रेस

292

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई प्रदेशसभामा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गरिसकेको स्पष्ट पारेको छ ।

शुक्रबार बागमती प्रदेशसभाको बैठकमा वैद्यले प्रधामन्त्री ओली सबैकुरा बिगार्न उद्यत् रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।

“बागमती प्रदेशसभा नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ । प्रदेश संसदीय दलको नेतृत्वमार्फत् शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराइएको छ,” नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर, त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनैपनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।”

शान्तिपूर्ण राजनीतिमा सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको भन्दै कांग्रेसले संसदमा संसदीय मर्यादाको पालना अनिवार्य रहेको बताएको छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनैपनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नरहेको विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...