काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् ।
बैठक आज अपरान्ह २ बजे संघीय सांसद् भवन नयाँबानेश्वरमा तय गरिएको छ ।
सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाएको उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा दोस्रोपटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री र सबै दलका प्रमुखहरुलाई छलफलका लागि बोलाएका हुन् ।
जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक ३६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरेपछि सापकोटाले आगामी कदमका बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवम् राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेको बेला उनले पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्नुलाई विशेष महत्वका साथ हेरिएको छ ।