प्रदेश १ले संघीय सरकारसँग माग्यो खोप खरिदको अनुमति

365

विराटनगर । प्रदेश नम्बर १ सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि अनुमति दिन संघीय सरकारसँग माग गरेको छ । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अगाडि बढाइने बताइन् । “केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुहोस्,” उनले भनिन् ।

कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने उनले बताइन् । प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुुँदा काम गर्न ढिला भएको बताइन् ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन् ।

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीहरु, मन्त्रालयका सचिवलगायतको सहभागीता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...