लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले अहिलेको सरकारमाथि औला उठाउने कुनै ठाउँ नरहेको बताएका छन् ।
बिहीबार प्रदेश सरकारको विनियोजन विधेयकका सिद्धात र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री चौधरीले अहिलेको सरकार पूर्ण बहुमतको रहेको र सरकारमाथि औंला उठाउने ठाउँ नरहेको बताएका हुन् ।
कानुनी हिसाबले वर्तमान सरकारको संख्या ४५ भएको र व्यावहारिक हिसाबले ४२ रहेको उनको भनाइ छ । उनले मुख्यमन्त्रीले आवश्यकता अनुसार चाहेका बेला विश्वासको मत लिने कानुनी प्रावधान रहेको भन्दै उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुने धारणा राखे ।
त्यस्तै, उनले प्रदेश सरकारले संसदबाटै बजेट पास गराउन चाहेको स्पष्ट पारे । मन्त्री यादवले कोरोनालाई मध्यनजर गर्दै उपयुक्त बजेट आउने जिकिर गरे । प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले सुरू गरेको योजना समयमै पूरा गराउने उद्देश्यका साथ बजेट आउने उनले जानकारी दिए ।
बैठकमा भूमि वयवस्था, कृषि तथा सहकारीमन्त्री विजय बहादुर यादवले जीवनाशक विषादी नियमन सम्बन्धी विधेयक पेस गरेका थिए । प्रदेशसभाको अर्को बैठक जेष्ठ २५ गते बोलाइएको छ ।