संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएका हौँ : अर्थमन्त्री पौडेल

241

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटका सन्दर्भमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरे।

उनले कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको जानकारी दिए । मन्त्री पौडेलले कोभिडविरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएकाले कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको धारणा राखे ।

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले कोरोनाले असर पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने योजना अनुरुप बजेट ल्याइएको धारणा राखे ।

शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...