सामाजिक सुरक्षा भत्ता एमाले‘ब्रान्ड’ नै हो : मुख्यमन्त्री पोखरेल

226

काठमाडौं । नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले जनआपेक्षालाई सम्बोधन गरेको दाबी गरेका छन् ।

कोभिड–१९ को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको उनको विष्लेषण छ । मुख्यमन्त्री पोखरेलले जन अपेक्षालाई सम्बोधन गर्न बजेट अग्रसर देखिएको बताएका छन् ।

यस्तो छ बजेटमाथि मुख्यमन्त्री पोखरेलको प्रतिक्रियाः
बजेट कोभिड–१९को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित छ । जनअपेक्षा पनि यस्तै थियो । अब मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुँदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो । कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाकका बावजुद जनताका अपेक्षाहरुलाई सम्बोधन गर्न बजेट अग्रसर देखिन्छ ।

यस पटकको बजेट सामाजिक क्षेत्रको सम्बोधनमा निकै उदार देखिएको छ । स्वास्थ र शिक्षा क्षेत्रले बजेटमा विशेष प्राथमिकता पाएका छन् । सामाजिक सुरक्षा भत्ता त एमाले ब्रान्ड नै भयो । पूर्वाधार विकासका क्षेत्रमा बजेटले सम्माननीय प्रधानमन्त्रीको सोचलाई सम्बोधन गर्न खोज्नु स्वभाविक नै हो ।

यस पटकको बजेटले विशेष ढंगले कोभिड–१९का कारणले प्रभावित व्यावसायिक क्षेत्र र समुदायलाई सम्बोधन गर्ने कोशिश गरेको छ । यसबाट निजी क्षेत्रले एकहदसम्म राहतको अनुभूति गर्न पाएको हुनुपर्छ ।

बजेट भाषणले सकेसम्म धेरै क्षेत्रलाई सम्बोधन गर्ने कोशिश गर्दा केही लामो सुनिएको छ । बजेट सुन्दा समग्रतामा सन्तुलित, आकर्षक र जनप्रिय बन्न पुगेको छ ।

प्रादेशिक संरचनाका हकमा वर्तमान अर्थमन्त्रीबाट थप उदारताको अपेक्षा राखिएको थियो । पूर्ण बजेट कार्यक्रम आउँदा त्यो पनि पढ्न पाइने अपेक्षा छ।

जहाँसम्म बजेटको कार्यान्वयनको विषय छ त्यो सदैव चुनौतीपूर्ण रहँदै आएको छ । यो वर्ष चुनावी वर्ष भएका कारणले थप चुनौतीपूर्ण हुनु स्वभाविक नै हो । यस्तो अवस्थामा स्थायी सरकारको रुपमा रहेको प्रशासनिक नेतृत्वले थप अग्रसरता र जिम्मेवारी लिएमा कार्यान्वयनमा खासै समस्या नहुनु पर्ने हो ।

Share This:
सम्बन्धित खबर
Loading...