काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव कुमार नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका छन् ।
१४औँ गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नलिइ तत्कालीन एमालेको गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दाबी गरेका छन् ।
गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।
गौतमले भनेका छन्,“बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको कन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए ।”
गौतमले झापा संघर्षका मुख्यतः तीन नेता भनेर ओली, सिपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका छन् ।