काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड अस्पतालको शुभारम्भ गरेका हुन् । सो क्रममा उाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताए ।
अक्सिजनको अभाव समाधानउन्मुख रहेको भन्दै उनले अब सरकारको ध्यान खोपमा केन्द्रित भएको जिकिर गरे। मन्त्री मानन्धरले जेठ तेस्रो साताभित्र खोप आयातका लागि ठोस पहल भइसक्ने बताउँदै केही महिनाभित्र सबै नेपालीलाई खोप लगाउन सक्ने गरी सरकारले पहल गरिरहेको धारणा राखे ।
महामारी नियन्त्रण र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बेला केही राजनीतिक दल र नेकपा एमालेकै केही नेताहरूमा विचलन देखिएको उनको भनाइ छ ।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिबद्धता जनाए ।