प्रदेश सरकार सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिन लागिपरेको छ : मुख्यमन्त्री राई

228

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको मुख्यमन्त्री राईको भनाइ छ ।

आइतबार विराटनगरमा करुणा फाउन्डेसन नेपालले प्रदेश नम्बर १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए ।

उनले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो संकटका बेला सरकारलाई सबैको साथ चाहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले करुणा फाउन्डेसनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउन्डेसनले सङ्खुवासभा, भोजपुर, तेह्रथुमलगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोसी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...