अमेरिकी सहयोगको पहिलो खेप नेपाल आइपुग्यो

448

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको नेपाललाई सहयोगी राष्ट्रहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पछिल्लो पटक संयुक्त राज्य अमेरिकाबाट अमेरिकी सहयोग निकाय (युएसएड)ले सहयोग उपलब्ध गराएको छ ।

परराष्ट्र मन्त्रालयले अमेरिकाले तीन वटा विमानमार्फत् गर्न लागेको सहयोगको पहिलो खेप नेपाल आइपुगेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी आपतकालीन समयमा अमेरिकाले गरेको सहयोगप्रति आभार र धन्यवाद प्रकट गरेको छ । पहिलो खेपमा अमेरिकाले सर्जिकल मास्क, फेस शिल्ड र ग्लोभ्स सहयोग गरेको छ । यसअघि अमेरिकाले एक सय थान भेन्टिलेटर, पिपिई, अक्सिजन आपूर्तिमा सघाउने उपकरण लगायतको सामग्री हस्तान्तरण गरेको थियो ।

विमानस्थलमा अमेरिकी दूतावासका अधिकारीहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका छन् । अमेरिकी सहयोग सामग्री बोकेको अर्को विमान आइतबार नेपाल आइपुग्नेछ । उक्त विमानमा एक हजार थान अक्सिजन सिलिन्डर आउने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आकस्मिक सहयोगको अनेकौं खेपमध्येको पहिलो खेप नेपाल आइपुगेको बताए । युएसएडले अनुदानमा उपलब्ध गराएको सहयोग सामग्री बोकेको उडान शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

राजदूत बेरीले स्वास्थ्य सम्बन्धी यी सामग्रीहरुले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभिड–१९ विरुद्धको लडाइँमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...